चितवनका स्थानीय सरकारले नदीकिनार वा वन क्षेत्रमा फोहोर विसर्जन गरिरहेका छन् । यसरी फोहोर विसर्जन गर्दा जलचर, वन्यजन्तु र वनस्पतिमा गम्भीर असर परेको छ । भरतपुर महानगरपालिकामा भित्रमात्रै दैनिक ७० टनभन्दा बढी फोहोर निस्कन्छ । यसरी निस्केको फोहोर नारायणी नदीकिनारसँगै रहेको नगर वन क्षेत्रमा फाल्ने गरिएको छ । यस्तै, जिल्लाको दोस्रो ठूलो सहर रत्ननगर नगरपलिकाले पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बरण्डाभार वन क्षेत्रमै अव्यवस्थित रूपमा फोहोर विसर्जन गर्छ । यसका अलावा माडी, खैरहनी, राप्ती र कालिका नगरपालिकाको फोहोर स्थानीय वन क्षेत्रमा फालिएको छ । इच्छा कामना गाउँपलिकाले कुरिनटारनजिकै त्रिशूली नदीकिनारमा फोहोर फाल्ने गरेको छ ।

“महानगर होस् या गाउँपालिका प्रायः सबै स्थानीय तहको फोहोर वन क्षेत्र वा नदीकिनारनजिकै विसर्जन गरिएको छ । यसले नदीको जलसम्पदा र जैविक विविधतामै प्रभाव परेको छ,” लामो समयदेखि निकुञ्जवरपरका विभिन्न नदी सरसफाइ अभियानमा जुट्नुभएका अभियन्ता अपिल घिमिरेले भन्नुभयो । उहाँका अनुसार अहिले नदीमा बढेको प्रदूषण र जलचरमा परेको प्रभाव पनि यही फोहोर समस्याका कारण हो । प्लास्टिक पानीको तल्लो भागमा जमेर बस्ने र त्यहाँ गोही, माछाका लागि चाहिने लेउ लाग्दा त्यही लेउसँगै प्लास्टिकसमेत माछा तथा गोहीले खाने गरेको उहाँको भनाइ छ । “ढुङ्गामा लाग्ने लेउ प्लास्टिकमा लागेपछि के होला ?,” उहाँको प्रश्न थियो । नदी सरसफाइ गर्दा विशेष रूपमा पानीका बोतल, प्लास्टिक, सिसा, फलामका टुक्राजस्ता फोहोर भेटिने गरेको उहाँको अनुभव छ ।

वन्यजन्तुको समस्या अरू चर्को छ । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठले जथाभावी वन क्षेत्रमा फालिने फोहोरले सबैभन्दा बढी वन्यजन्तुको स्वास्थ्यमा असर परेको बताउनुभयो । “फोहोरमा पनि सबैभन्दा बढी प्लास्टिकले जनावरमा असर गरेको छ,” उहाँले भन्नुभयो, “प्लास्टिक खाएका जनावरको पाचन प्रणालीमा असर परेर मरेका घटना धेरै भेटिन्छन् ।”

कतिपय गैँडा, मृग, जरायोजस्ता वन्यजन्तुको शव परीक्षण (पोस्टमार्टम) गर्दा पेटमा प्लास्टिक भेटिएको उहाँले बताउनुभयो । “प्लास्टिकमा तरकारीलगायतका खानेकुरा राखेर फालिँदा नुनिलोको लोभले वन्यजन्तुले खान्छन् । त्यसरी प्लास्टिकसमेत खाँदा त्यसले वन्यजन्तुमा असर गरेको हो,” उहाँले भन्नुभयो ।

यसका अतिरिक्त जथाभावी फालिने सिसा, फलाम, तारलगायतका वस्तुले पनि वन्यजन्तुलाई असर गरिरहेको छ । प्लास्टिकको समस्या त जलचरमा पनि चर्को छ । तर, त्यसको अध्ययन नेपालमा कमै भएको छ । जलचरविज्ञ वेदबहादुर खड्का नेपालका नदीमा अनुसन्धान नभए पनि भारतमा प्लास्टिकजन्य फोहोरले जलचरमा परेको प्रभावबारे अध्ययन भएको बताउनुभयो ।

“एक अध्ययनमा भारतमा मगर गोही र घडियाल गोहीको मृत्युपछि पेटमा प्लास्टिक भेटिएको देखिन्छ,” उहाँले भन्नुभयो ।फोहोर पानी दूषित हुने र यसले पानीको पारिस्थितिकीय प्रणाली (इकोसिष्टममै) असर गर्ने उहाँको तर्क छ । “जहाँ नदी छ, त्यहाँ जीव छ । जहाँ नदी छैन, त्यहाँ जीव पनि छैन । त्यसैले जीवलाई बचाइराख्न पनि नदी प्रदूषण हुनबाट रोकिनुपर्छ । तर, हाम्रोमा सिधै ढलसमेत ल्याएर नदीमा फाल्ने गलत परम्परा छ,” उहाँले भन्नुभयो ।

भरतपुर महानगरपालिकाका वातवरणीय शाखा प्रमुख इन्जिनियर विराट घिमिरेले फोहोरको दीर्घकालीन समस्या समाधान गर्न नसक्दा नदीकिनारमा फ्याँक्नुपर्ने बाध्यता भएको बताउनुभयो । “अन्त कतै फ्याँक्ने ठाउँ नभएपछि बाध्यताले नदीकिनारमा फ्याँकेका हौँ,” उहाँले भन्नुभयो ।
फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि कोरियाली सरकारसँग ल्यान्डफिल्ड साइट निर्माणका लागि सम्झौता भइसकेको र केही वर्षभित्रै भरतपुरको फोहोर व्यवस्थापन हुने उहाँको दाबी छ ।

उसो त केही समयअघि भरतपुर महानगरपालिकाले गरेको पत्रकार सम्मेलनमा महानगरकी प्रमुख रेणु दाहालले पनि फोहोरमैलाको दिगो एवं वैज्ञानिक व्यवस्थापनका लागि कोरियाली सरकारको सहयोगमा डीपीआर बनेको र एक अर्ब २५ करोडको लागत अनुमान हुनेगरी ‘जीटूजी’ सम्झौतामार्फत वैज्ञानिक फोहोर व्यवस्थापन कार्य अगाडि बढाउने काम भइरहेको बताउनुभएको थियो ।

जिल्लाका अन्य स्थानीय तहले भने फोहोर व्यवस्थापनमा खासैदीर्घकालीन योजना बनाएको देखिँदैन । जसको प्रत्यक्ष प्रभाव वन्यजन्तु र वनस्पतिमा परेको हो ।चारैतिर निकुञ्जले घेरिएको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल फोहोर जथाभावी नफाल्न स्थानीयलाई अनुरोध गरे पनि त्यो कार्यान्वयनमा नआएको दाबी गर्नुभयो । “नगरपालिकाले चाहेरमात्रै नहुने । स्थानीयले जथाभावी फोहोर फाल्दा समस्या भयो,” उहाँले भन्नुभयो ।चितवनको वन क्षेत्र बाघ, गैँडाजस्ता दुर्लभ वन्यजन्तुको प्रमुख वासस्थान हो । त्यस्तै, यहाँका नदी तथा पोखरी र सिमसार डल्फिन, घडियाल, मगर गोहीजस्ता जीवजन्तुको वासस्थान हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य दुर्लभ वन्यजन्तु र सरिसृप तथा जलचर संरक्षणका लागि पनि वन तथा नदीकिनारमा गरिने फोहोर विसर्जन रोकिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समस्याको दीर्घकालीन समाधान खोजेर पनि वन र नदीकिनारमा जथाभावी गरिने फोहोर विसर्जन रोकिनुपर्छ । नत्र यसको अझै बढी गम्भीर प्रभाव हामीले वन्यजन्तु र जलचरमा देख्नुपर्नेछ । ”

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो