प्रदिप्नराज पन्त

मनुष्य प्रकृतिको हिस्सा हो तैपनि मनुष्य र प्रकृतिबीचका सम्बन्धहरूको बारेमा अझै पनि विस्तृत अनुसन्धान भइसकेको छैन तर किटानसाथ के भन्न सकिन्छ भने प्रकृति अहिले मानवबाट क्षतिग्रस्त छ र मानवले प्रकृतिबाट प्राप्त हुने धेरै स्रोतसाधनलाई स्वतः प्राप्त हुने सहज उपभोग्य वस्तुको रूपमा लिएको देखिन्छ । यसको साथै प्रकृतिबाट प्राप्त हुने सेवालाई समेत मानिसले ज्यादै हलुङ्गो तरिकाले लिने गरेको छ जब कि यस्ता सेवाहरूको अभावमा मानिस एक मिनेट पनि जीवित रहन सक्दैन तर ठीक यसको विपरीत प्रकृति मानवविना पनि रहन सक्छ ।

मानव निर्मित कृत्रिम केही सेवा ‘प्रकृतिको संरक्षणमा’ भन्ने गरिएको भने पनि त्यस्ता संरक्षणका अभियानहरू मानवले आफ्नो आवश्यकता र सुविधाका लागि गरेको हो । प्रकृति मानवको सेवाबिना पनि रहन सक्छ तर मानव प्रकृतिबिना रहनै सक्दैन । यसैले प्रकृतिप्रति सहिष्णुता देखाउने र प्रकृतिप्रति उदासीन नभई जीवनको अङ्ग बनाउने हो भने मानवले आफ्नो जीवन ज्यादै आरामदायक बनाउनुको साथै आफ्नो जीवनमा खुसीयाली नै खुसीयाली ल्याउन सक्छ । यसकारण प्रकृति मानवबीचको सम्बन्धलाई व्यापक रूपमा बुझ्ने प्रयास गर्नुपर्छ । अल्वर्ट आइन्सटाइनले जीवनको सम्पूर्ण रहस्य बुझ्नका लागि प्रकृतिलाई बुझ्न सुझाउनु भएको छ । उहाँले लेख्नुभएको छ ‘प्रकृतिलाई गहिरोसँग हेर्नुहोस्, तपाईंले सबै रहस्य सहज रूपले थाहा पाउनु हुन्छ ।’

अर्थ व्यवस्था
विकास प्रतिस्पर्धात्मक सङ्घर्षको परिणाम हो तर विकासलाई मानिसहरूकै रचनात्मक सामूहिक अभिव्यक्ति मात्र हो भन्न थालियो भने प्रकृतिको योगदानलाई कदर नगरिएको ठहर्छ । विभिन्न कालखण्डमा प्रकृतिमा आएको परिवर्तनलाई ध्यान दिने हो भने मानव जीवन लगातार अनुकूलन, नवप्रवर्तन र पुनःउत्पादन गर्न सक्ने शक्तिबाट नै अहिलेको रूपमा विकास भएको देखिएको छ तर अहिले वैश्विक अर्थव्यवस्था मानव जीवनको अत्यधिक सुखसुविधालगायत अन्य प्रचूरतालाई स्थायी बनाउनका लागि प्रकृतिको क्षमतालाई चुनौती बनेको छ । मानिसहरूले केही गम्भीर किसिमको गल्ती गरिरहेका छन् । इतिहासको यो महत्त्वपूर्ण कालखण्डमा हामी अर्थ व्यवस्थाको माध्यमद्वारा एकआपसमा पृथ्वीको चमत्कारसँग कसरी सम्बन्धित छौँ भन्ने बारेमा हामीले आफूलाई उन्मुख गराउन नसकेको जस्तो देखिन्छ । यसैले हामीले एउटा नयाँ आन्दोलन गर्न जरुरी छ । सीमित जीवनदायी ग्रहमा जीउनका लागि हामी आफैँले पृथ्वीमा घट्ने सबै क्रियाकलापको सही र विश्वासिलो साक्षी हौँ भन्ने प्रमाण भविष्यलाई दिन आवश्यक छ ।

हामी अर्थात् मानवका लागि कति ठूलो अर्थ व्यवस्था चाहिन्छ भन्ने बारेमा थुप्रै अर्थशास्त्रीले काम गरेको भए पनि निक्र्योल भने हुन सकेको छैन । माटो, जङ्गलजस्तो नवीकरणीय स्रोतलाई मानिसले अत्यन्त तिब्र गतिले प्रयोग गरेको छ । यसका साथै हामी सबैलाई थाहा छ कि हरितगृह ग्यास वातावरणमा खतरनाक तरिकाले बढेको छ । हामीलाई यो पनि थाहा छ यदि हाम्रो उपभोग गर्ने बानी लामो समयसम्म यसरी नै रहिरह्यो भने भविष्यमा यी स्रोतसाधन रहने छैनन् । मानिसलाई अभाव महसुस हुनेछ । उदाहरणका लागि सम्पूर्ण वैज्ञानिकको डरलाग्दो चेतावनीपछि पनि हरितगृह ग्यास उत्सर्जन गर्नका लागि विश्वका नेताहरू उदासीन छन् । यसले माानवजातिलाई चेतावनी दिइरहेको छ कि विनाशकारी जलवायु परिवर्तनको प्रकोप निकट भविष्यमा झेल्नुपर्ने स्पष्ट छ । जलवायु परिवर्तन अर्थ व्यवस्थासँग प्रत्यक्ष सम्बन्ध जोडिएको छ तर अहिले पनि एउटा सरल प्रश्नको उत्तर प्राप्त हुन सकेको छैन ‘अर्थव्यवस्थाको आकार कति ठूलो हुन पर्छ ।’

जतिसकै ठूलो आर्थिक आवश्यकता र कुल गार्हस्थ्य उत्पादन भएको देश किन नहोस् अर्थव्यवस्थाको वृद्धि, आकार, तिब्रता बेग र गतिलाई हरेक मोडमा मानव समाज परिस्थिति र समुदायको अखण्डता, लचिलोपन, सुन्दरतामाथि यसको प्रभाव आँकलन गरिनुपर्छ । मानवको आकाङ्क्षा ज्यादै बढेकाले अर्थ व्यवस्थामा भार पर्नु स्वाभाविक हो तर भलै हरितगृह ग्यास उत्सर्जन कम गर्न कार्यक्रमहरू सुरु भएका हुन् या उत्सर्जन प्रकृतिको आफँै सन्तुलन गर्न सक्ने क्षमता बराबरको होस् अर्थात् निकासीको बराबरी होस् । तैपनि अहिलेको पर्यावरणको स्थितिले स्थिर जलवायु प्राप्त गर्न केही वर्ष केही दशक नभई शताब्दीयौँ लाग्ने स्पष्ट भइसकको छ ।

चेतावनी
पछिल्ला केही दशकमा मानव र प्रकृतिको सम्बन्धको बारेमा धेरै अनुसन्धान भएका छन् र के निक्र्योल गरिएको छ भने मनुष्य पर्यावरणको अभिन्न हिस्सा हो । प्राकृतिक तìव, प्राकृतिक संसाधनको स्थिरता, प्रकृतिको सान्निध्यबाट प्राप्त हुने स्वास्थलाभ यसका ज्वलन्त उदाहरण हुन् तर विभिन्न कारण प्राकृतिक सम्पदामा गहिरो नोक्सान भएको छ र पृथ्वी आक्रान्त भएकी छिन् । यसकारण यसलाई बचाउन सबैले प्रयास गर्न जरुरी छ । प्रकृतिले हामीलाई ‘यो गर या त्यो नगर’ भन्ने त होइन तर हामीलाई यति सन्देश दिइएको हुन्छ कि यदि जीवहरूले यस्तो काम गरे भने त्यसको परिणाम यस्तो हुन सक्छ । यदि हामी दुःख, पीडा या विघटनबाट बच्न चाहान्छाँै भने प्रकृतिले दिएको चेतावनीलाई ध्यान दिन जरुरी छ र अर्थ व्यवस्था कुनै एक देशको नभई विश्वकै अर्थ व्यवस्थाको परिभाषा स्पष्ट हुनुपर्छ ।

अहिले वातावरण संरक्षणका लागि मानव केन्द्रित, जैव केन्द्रित र अहंकारवादलगायत सबैखाले विचारले स्थान पाएको देखिन्छ । कसैकसैले एउटा व्यावहारिक दृष्टिकोण अपनाउन सुझाव दिएका छन् । जसअनुसार प्राथमिक मानव आवश्यकतालाई सबभन्दा पहिला र सबभन्दा महत्त्वपूर्ण रूपमा पूरा गरिने र अन्य जीव र परिस्थितिजन्य आवश्यकतालाई दोस्रो प्राथमिकतामा राख्नुपर्ने सुझाव पनि आएका छन् । अर्थ चार्टर (पृथ्वीको घोषणापत्र)मा अहिले एक किसिमको सन्तुलित धारणा पनि विकास गरिएको छ । जसअनुसार विकास पनि होस् र प्रकृतिमा ठूलो क्षति पनि नहोस् तर केही भौगोलिक क्षेत्रफलको आधारमा ठूला भनिने देशहरूले जलवायु परिवर्तनको समस्यामा वर्तमान मानव समस्या समाधानमा मात्र केन्द्रित हुनुपर्ने धारणासमेत राखेका छन् जसलाई न्यायोचित मान्न सकिन्न ।

पूर्वीय दर्शन
प्रकृतिको अध्ययनमा पूर्वीय दर्शनका विज्ञहरूको गहिरो अभिरुचि रह्यो । उनीहरूले प्रकृतिको विभिन्न प्रकारको जाँच गरे । गति, कारण, स्थान, समयदेखि विभिन्न प्रकारको प्राकृतिक संस्था र प्राकृतिक घटनालाई व्यवस्थित अन्वेषण र स्पष्टीकरण दिए । महर्षिहरूले प्रकृति संरक्षणका लागि पनि सैद्धान्तिक ढाँचा प्रस्तुत गरेका छन् । रुख रोप्ने, सबै जीवजन्तुलाई आदर भाव व्यक्त गर्नेजस्ता कल्याणकारी विषयको बारेमा बहस गर्न यी सामान्य लेखमा सम्भव छैन तर सङ्क्षेपमा के भन्न सकिन्छ भने पूर्वीय दर्शनमा प्रकृतिलाई धर्म, आस्था, सम्प्रदायभन्दा माथि राखिएको छ ।

सङ्क्षेपमा प्रकृति भनेको दिन र रात हो । दिन भनेको उज्यालो, रात भनेको अन्धकार । प्रकाशलाई हिन्दुहरूले मानिसको स्वच्छ मनको प्राकृतिक रूप ठानेका छन् । हाम्रो जन्मको समय जे भए पनि पृथ्वीमा भएका सबै मानिस स्वच्छ मन लिएर जन्मेका हुन्छन् भन्ने मान्यता छ र रात अथवा अन्धकारलाई पूर्वीय दर्शनमा निर्दयताको सम्पर्कमा आउने अहंकारी मानसिकताको रूपमा चित्रण गरिएको छ । यही दिनरातलाई प्रकृति भन्ने गरिन्छ र हामी सबै यही प्रकृतिको सान्निध्यमा हुर्किएका हुन्छौँ र हामीलाई आन्तरिक आनन्द या दुःख पीडा सबै यही दिन र रातमा हुने गर्छ । मानिसको स्वभाव पनि दिन र रातजस्तै हुन्छ भन्ने गरिएको छ ।

अहिले भने जताततै अन्धकार छाएको जस्तो देखिन्छ । प्रकृतिको सेवा र संसाधनलाई एक सतत प्रक्रियाको रूपमा परिभाषित गर्नुको साटो विकासलाई प्रतिस्पर्धात्मक सङ्घर्षको परिणाम ठानेर प्रकृतिप्रति उदासीन हुन थालेको आभाष पाइन्छ । प्राकृतिको सेवा तथा संसाधनलाई अहिलेको मानवीय आशय, इच्छा र आवश्यकतासँग मात्र नजोडी एकीकृत रूपमा संरक्षणको अभियान अघि बढाउनुपर्छ । जहाँ पहिरो जान्छ, जहाँ बाढी आउँछ त्यहाँ मात्र नभई सम्भावित बाढीपहिरो सबै ठाउँ संरक्षणका लागि मानिसको प्राथमिकतामा पर्नुपर्छ । यसका लागि मानिस नै सबैभन्दा बढी जिम्मेवार छ ।

पूर्वीय दर्शनमा मानव जीवनलाई सुन्दर ढङ्गबाट परिभाषित गरिएको छ । मानव जीवनलाई बुझ्यो भने मानवको प्रकृतिसँगको सम्बन्ध बुझ्न पनि सहज हुन्छ । मानव जीवनमा राक्षस र देवताको परिभाषा गर्न कठिन छ तर राक्षसी प्रवृत्ति भनेको के ? दैवी प्रवृत्ति भनेको के ? भनेर सुन्दर ढङ्गबाट परिभाषित गरिएको छ । महर्षिहरूका अनुसार मानिस सबै सार्वभौमिक सद्भावनासँग जोडिएको हुन्छ । हामी आफ्नो कर्मद्वारा प्राप्त गरेको लाभलाई आफ्नो उपयोगका लागि मात्र नभई अरूहरूको भलाइमा पनि लगाउछाैँ भने त्यो दयालु भावनाको सुरुवात हो, दैवी प्रवृत्ति हो । त्यस्तो भाव पलाउनु नै मानव हुनुको पहिलो कर्तव्य हो । दयालु हुनु भनेको मानिस मानिसलाई मात्र नभई सम्पूर्ण ब्रह्माण्ड चराचर जगतलाई प्रेम भाव दर्शाएको भन्ने अर्थमा बुझ्नु पर्छ । आफू र आफ्नाबाहेक अन्य मानिससँग कडा र बिरसिलो तरिकाले प्रस्तुत हुने मानिसले आफूलगायत कुनै पनि मानिसप्रति प्रेम नगरेको नै ठहर्छ ।

अतीतमा हाम्रा पिता पुर्खाहरूले प्रकृतिप्रति असीम श्रद्धा देखाएका थिए र उनीहरूले प्रकृतिको सुरक्षा गर्नमा पनि सुझबुझका साथसाथै आचारसंहिता बनाएका थिए । यसैले प्रकृतिले पनि असीम कृपा उनीहरूमा बर्साइन् । मानिसलाई अत्यावश्यक नभई नहुने खुराकहरू स्वच्छ हावा, स्वच्छ पानी र प्रदूषणरहित वातावरणले गर्दा मानिसले सुखी र लामो जीवन प्राप्त गरेको थियो । समय बित्दै जाँदा हाम्रा जीवन प्रणाली प्रकृतिबाट टाढिँदै गयो । मानव निर्मित रासायनिक उत्पादन खान, धुँवामा सास लिन र अत्यधिक प्रदूषित वातावरण जीवन गुजार्न बाध्य हुनुप¥यो । यसले लामो जीवनको परिकल्पना साक्षात्कार हुन सकेन तर विगतमा प्रकृतिको सान्निध्यमा जिउनका लागि महर्षिहरूले केही आचारसंहिता निर्माण गरे र बोटबिरुवालगायत प्रकृतिलाई संरक्षण गरे र जीवनको हिस्सा बनाए ।
पूर्वीय दर्शनमा भनिएको छ दया मनुष्यको स्वभाव हो तर कसैलाई बाटोमा हिँड्दा मुस्कराउँदैमा र कसैलाई अलिकता आर्थिक सहयोग गर्दैमा दयालु मानिस भनेर भन्न मिल्दैन । दया वास्तवमा सम्पूर्ण मानवताको हितका लागि एक अभिजात्य हिस्सा हुने भावना हो ।

मानवता मानिसको अन्तरात्मामा हुन्छ । हामी सबै एउटै पृथ्वीमा रहन्छौँ र हाम्रो पृथ्वीको कुनै एक हिस्सा परिस्थितिजन्य घटनाले प्रभावित भयो भने त्यसको पीडा हामी सबैले भोग्नुपर्छ । के हामीलाई यसबारे जानकारी छैन ? यसैले हामी सबैले आफ्नो अन्तस्करणको दयाको भावनालाई जगाउन जरुरी छ । यदि यसो भयो भने प्रकृतिले हामीप्रति दया वर्षाउने छिन् । निःसन्देह प्रकृति र पर्यावरणको सम्बन्धमा हाम्रो व्यवहार नीतिलाई केही निश्चित आचारसंहिताद्वारा निर्देशित गर्न जरुरी छ । आचारसंहिता केही प्रकृतिको आधारभूत सिद्धान्त र विशेष गरेर अति जल्दोबल्दो मुद्दालाई व्यावहारिक विचारबाट प्राप्त गर्न सकिन्छ ।

पूर्वीय दर्शनअनुसार केवल एक व्यक्ति मात्र होइन, ब्रह्माण्डको सम्पूर्ण समस्याको समाधान चेतनाबाट गर्न सकिन्छ किनकि ब्रह्माण्डको मूल पदार्थ चेतना हो, ईश्वर होइन । जसले पृथ्वीलाई संरक्षण दियो त्यो मानव चेतना हो । जसले सबथोक निर्माणका साथसाथै संरक्षण पनि ग¥यो । वैज्ञानिकहरू मान्छन् कि पदार्थको अस्तित्व छ र यो हाम्रो चारैतिर फैलिएको छ तर ऊर्जाको भूमिकालाई विचार नगरीकन पदार्थलाई स्थापित गर्न सकिन्न । पदार्थ भनेको पनि ऊर्जाको एउटा अपरिस्कृत रूप त हो र चेतना नै व्यापक अर्थमा ऊर्जा हो ।

चेतना भएन भनेजस्तो आचारसंहिता बनाए पनि पालना हुँदैन । चाहे व्यक्तिको समस्या होस् या पृथ्वीको समस्या । हाम्रो चेतनाको अभिव्यक्तिले नै सम्पूर्ण समस्याको हल गर्न सकिन्छ । वातावरण संरक्षणका लागि वैश्विक चेतना हुनु सर्वाधिक महìवपूर्ण छ । मतभेद भए पनि विश्वका सबै जागरुक मानिस आफ्नो काम र जिम्मेवारीबाट भाग्न मिल्दैन र एउटा निश्चित आचारसंहिताको आधारमा प्रकृतिको संरक्षणमा जुट्नै पर्छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो