नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ। आगामी चैत २५ र २६ गते बेनीमा हुने महाधिवेशनको तयारीलाई तीव्रता दिइएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले बताए।

‘कोरोनाको कारण महाधिवेशन रोकिएको थियो,‘यसपटक बेनीमा छन्त्यालको पहिचान झल्किने गरी कार्यक्रम गछौं’ अध्यक्ष छन्त्यालले भने। उनले म्याग्दीको कला र संस्कृतिको जर्गेनामा छन्त्याल जातिको भूमिका समेत महत्वपूर्ण रहेको बताए।

छन्त्याल जातिको आफ्नो छुट्टै मौलिक संस्कृति, भाषा, धर्म, परम्परा, चालचलन, रीतिरिवाज, जीवनपद्धति र प्रथा रहेकाले प्राचिनकालको महत्वका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक रहेको बताए।

छन्त्याल जातिमा १२ थरहरू रहेका छन्ः खड्का, घर्ती, घरब्जा, घ्याप्चन, झिङ्राजा, डाँडामारे, तथप्जा, पुराने, पोत्लाङ्गे, बुढाथोकी, भलञ्जा र सिङ्ग रहेका छन्। महाधिवेशनको अवसरमा विभिन्न ११ जिल्लाबाट आउने ३५० बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी हुने जनाइएको छ।

संघ मातहतका सबै समितिको अधिवेशन सकिएको र फागुन २८ गते भित्र प्रतिनिधि चयनको काम सक्न निर्देशन दिइएको छन्त्याल विद्यार्थी संघका केन्द्रिय सदस्य अमर छन्त्यालले बताए। संघका केन्द्रिय अध्यक्ष छन्त्याल, महासचिव बलमान छन्त्याल, कोषाध्यक्ष शिव प्रसाद छन्त्याल, म्याग्दीका जिल्ला अध्यक्ष रेशम छन्त्याल, सचिव मनबहादुर छन्त्याल, लगायतको टोलीले शनिबार बेनीमा कार्यक्रम गर्ने स्थलको छनौट समेत गरिसकेको छ।

विभिन्न स्थानको स्थलगत निरिक्षण पश्चात जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन र बन्द सत्रको कार्यक्रम गर्ने तय भएको महासचिव छन्त्यालले बताए। अध्यक्ष छन्त्यालको अध्यक्षतामा महाधिवेशन मुल आयोजक समिति र ८ वटा विभिन्न उपसमिति गठन गरि तयारीलाई तीव्रता दिइएको संघले जनाएको छ।

उद्घाटन कार्यक्रममा छन्त्याल समुदायका संघ संस्थाका प्रतिनिधि लगायतको समेत सहभागीतामा बेनीमा झाँकी सहितको बृहत्  र्‍याली निकालिने जनाइएको छ। ‘अस्थित्व, मौलिक पहिचान र अधिकारको लागि हाम्रो आन्दोलन।’ ऐतिहासिक छन्त्याल स्वायत्त क्षेत्रको पक्षमा सातौ राष्ट्रिय महाधिवेशन  भन्ने मुल नाराका साथ आयोजित महाधिवेशन सफलताका लागि आर्थिक, भौतिक र नैतिक सहयोगका लागि समेत अपिल गरिएको छ।

छन्त्याल भाषा भोट–बर्मेली परिवारमा पर्दछ। बागलुङ र म्याग्दी जिल्लाका क्षेत्र/इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणनाअनुसार छन्त्यालहरू ४३ जिल्लाहरूमा रहेको देखिन्छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो