हेटौंडा । चितवन जिल्लाको खैरहनी नगरपालिकामा हुन लागेको प्रथम संस्करणको ज्यामिरे कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी सहभागी हुँदैछ । ज्योमिरे युवा क्लबको आयोजनामा तथा खैरहनी नगरपालिका वडा नम्बर–१ को संरक्षणमा आइतबारबाट सुरु हुने ज्यामिर कप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीको टोली सहभागी हुन लागेको हो ।
हेटौंडा फुटबल एकेडेमीको टिमले आफ्नो पहिलो खेलमा पौस १५ गते चैनपूर युनाइटेड क्लबसँग प्रतिस्पर्धा गर्ने टिम कप्तान कृष्णा गुरुङले जानकारी दिएका छन् । आफ्नो पहिलो खेलमा जित निकाले हेटौंडा फुटबल एडेकेडेमीको टिमले क्वार्टरफाइनलको स्थान सुरक्षित गर्ने टिम कप्तान कृष्ण गुरुङले बताए । खैरहनी नगरपालिकाको कयर खोला चौर (नमुना बस्तीमा) हुने प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहने टिम प्रशिक्षक भीम लामाले बताए ।
प्रतियोगितामा मकवानपुरको हेटौंडासहित अयोजक ज्यामिरे ए, बी, बागमती पुलिस क्लब, न्यू सिम्रेनी, मकवानपुरको सुनाचुरी, चैनपूर युनाइटेड, जय मंगल युवा क्लब, श्री परिवर्तन हातेमालो जगतपूर, एन्फा यु–१६, रत्ननगर नगरपालिकाको खेलकुद विकास समिति, बिटीएस माडी, पिठुवा एकेडेमी, दिगो विकास एफसी, पार्वतीपूर र हर्दी युवा समाजको टिमहरुको सहभागिता रहने उनले बताए । यस अघि पनि हेटौंडाको टोलीले विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आइरहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल पुस २५ गते हुनेछ ।



















प्रतिक्रिया दिनुहोस्