श्रीपञ्चमी सरस्वती पूजा –माघ शुक्लपक्षको पञ्चमी तिथिलाई श्रीपञ्चमी, वसन्तपञ्चमी सरस्वती पुजाका दिन भनिन्छ ।

सेतो वर्ण भएकी, सेतै वस्त्रमा सजिएकी, श्वेतपद्मासनमा बसेकी हातमा वीणा, पुस्तक र स्फटिक माला धारण गरेकी राजहंसमा आरूढ भगवती अभय मुद्रामा मन्द मुस्कानका साथ दिव्य ज्ञानको भण्डारकी देबी माता सरस्वती देवीको पूजा आराधना गरि मनाइने गरिन्छ ।

वैदिक कालमा वसन्त ऋतुको मधुमास, आर्तव चैत्रमासमा यो पर्व मनाउने गरेको मान्यता छ भने कालान्तरमा वार्हस्पत्य संवत्सरको लौकिक पञ्चाङ्ग चलनमा आएपछि माघ शुक्ल पक्षको पञ्चमी श्री’ भन्नाले विद्या, बुद्धि र वाणीकी अधिष्ठात्री देवी भन्दै सरस्वती देवीको पूजा –आराधना गरि मनाउदै आएको हो।

जब वृक्षहरूमा नयाँ पालुवा आउने, सुन्दर फूलहरू फुलेर चारैतिर सुगन्ध कोइलीहरूको कुहुकुहु संगै वसन्त ऋतुको आगमन हुन्थ्यो अनि यही समयमा ब्रह्मवेत्ता ऋषिहरूले अग्न्याधान गरेको प्रसंग ’ब्राह्मणो वसन्ते अग्नी आदधीत  इत्यादि वैदिक मन्त्रले उद्बोधन गरेको पाइन्छ।

मधुमासको शुक्ल पञ्चमी तिथिमा आफ्ना अङ्गनासहित विष्णु र कामदेवको पूजा गर्ने गरिन्थ्यो र शास्त्रहरूमा उक्त पञ्चमीलाई ’ऋषिपञ्चमी’ भनिएको छ।

धार्मीक मान्यता अनुसार कालान्तरमा मधुमासको सट्टा शिशिर ऋतुमा पर्ने निरयण माघ शुक्ल पञ्चमीमा पर्व मनाउन थालिए पनि यसको नामचाहिँ वसन्तपञ्चमी नै रहन गएको उल्लेख छ ।

सर्वप्रथम भगवान् श्रीकृष्णले श्रीपञ्चमी मा सरस्वती पूजा गर्ने चलन बसाएको प्रसंग पुराणहरूमा पाइन्छ।

आजका दिन घरघरमा,टोलटोलमा र विद्यालयहरूमा सरस्वतीको भव्य उत्सवका साथ मनाइन्छ। बौद्ध धर्मालवम्बीहरूले पनि आजै मन्जुश्रीका नामले पूजा गर्ने प्रचलन छ । विभिन्न कला र प्रविधिका विद्यार्थीहरूले आफ्ना उपकरणको पूजा गरी विद्याकी देबी सरस्वती माताको सरस्वतीको प्रार्थना गर्ने विभिन्न सिद्ध स्तोत्र, मन्त्रहरू उच्चाहरण गर्ने गर्छन् ।

व्यास, वाल्मीकि,याज्ञवल्क्य, पाणिनि, कालीदास शंकराचार्य, गोरक्षनाथ, तुलसीदास आदि सिद्धहरूले पनि सरस्वतीको वरदान प्राप्त गरी अलौकिक कार्य गरेको इतिहास पाउन सकिन्छ।

धार्मीक मान्यता  पौराणिक आख्यानअनुसार
देवी सरस्वतीको जन्म सृष्टिको प्रारम्भमा ब्रह्माजीको मुखबाट भएको थियो। उनै ब्रह्माजीका चार मुखबाट सम्पूर्ण ज्ञानविज्ञानका स्रोत चार वेद प्रकट भएका हुन्। वनस्पति र पशुपक्षीको सृष्टि गरिसकेपछि भगवान् विष्णुको आज्ञा अनुसार नै संसार चलाउन ब्रह्माजीले विशेष जीवको सृष्टि गर्नुपर्ने भयो । मनुष्य योनि रचना गर्न ब्रह्माजीलाई निकै सकस परेको थियो।
सुरुको प्रयासले सन्तोषजनक परिणाम नदिएपछि निराश हुँदै कमण्डलुको जल हातमा लिएर छर्किएपछि श्रीपञ्चमी कै दिनमा दिव्य चतुर्भुज स्वरूपमा देवी सरस्वतीको आविर्भाव भएको हो।
अभय मुद्रामा मन्द मुस्कानका साथ दिव्य ज्ञानको आलोक छर्दै ब्रह्माजीका सम्मुख प्रकट भई ब्रह्माजीका आज्ञाअनुसार वीणा बजाउदै संसारमा ज्ञानका शब्द र वाणीको धुन गुञ्जन थाल्यो ।भगवतीका वीणाको झंकारले संगीतको सारेगम उत्पत्ति भयो। सरस्वतीको प्राकट्यपश्चात् ब्रह्माजीको योनिज सृष्टिक्रमले पूर्णता प्राप्त गर्यो।
सम्पूर्ण चराचर जगतको सृष्टि, स्थिति र लयमा ईश्वरीय प्रकृति र पुरुष गुण समानरूपमा क्रियाशील रहन्छन्। त्रिदेव ब्रह्मा, विष्णु र महेशका साथमा आद्या भगवती महासरस्वती, महालक्ष्मी र महाकालीको समान भूमिका देख्न सकिन्छ। ब्रह्माजीको सृष्टि अभियानलाई पूर्णता प्रदान गर्न विद्याकी देवी भगवतीको आविर्भाव भएको हो।
सृष्टिको उपक्रम अघि बढेपछि ब्रह्माजीले सरस्वतीलाई वाग्देवी’ भनी सम्बोधन गर्नुभयो भने समस्त प्राणीहरूको जिह्वामा निवास गर्नुहुने माता सरस्वती वाणीरूपमा प्रकट हुनुहुन्छ। यसर्थ भगवतीलाई वाग्देवी वा वागीश्वरी पनि भन्ने गरिन्छ।
भगवतीका भारती, सरस्वती,शारदा, जगन्माता, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्राह्मी, ब्रह्मचारिणी, भुवनेश्वरी आदि हजारौं नाम रहेका छन्।