जुम्लाको लाइजिउलोमा एक दशकअघिसम्म धान, जौ र समयअनुसारको अन्नबाली लहलहाउँथ्यो। अन्नबालीले यो जिउलो निकै हरियाली हुन्थ्यो। लाग्थ्यो, यो अन्नबालीका लागि उर्वरभूमि हो। यहाँको उत्पादनले १२ महिनासम्म खान पुग्थ्यो। गाडी नपुगेकाले यहाँका स्थानीय रैथाने खाद्यान्नमा आत्मनिर्भर थिए। तर जब कर्णाली राजमार्गको ट्र्याक खुल्यो, तबदेखि नै यहाँको खेतीयोग्य जमिनमा ठुल्ठुला बंगला ठडिन थाले। अहिले न्यूनतम एक तलादेखि पाँच तलासम्मका पक्की घर बनेका छन्।

चन्दननाथ नगरपालिका–७ का तारा थापा राजमार्ग सञ्चालनमा आएसँगै सहरीकरणका नाममा खेतीयोग्य जमिन मासिँदै गएको बताउँछिन्। उनले आफूले ५ मुरी खेती गर्ने जमिन बेचेको सुनाइन्। ‘वरिपरिका छिमेकीले जग्गा बेचेर पैसा कमाउन थालेपछि बाध्य भएर जमिन बेचेँ,’ उनले भनिन्, ‘आयातीत खाद्यान्न सहजै रूपमा पुग्न थालेपछि खेतीयोग्य जमिन बेच्ने क्रम बढ्यो। अहिले रैथाने अन्नबाली बचाउन कठिन छ।’

पहिलेको खेतीयोग्य जमिनमा अहिले बसपार्क, ग्यारेज र ट्रायल सेन्टर बनेका छन्। जुम्ला सडक सञ्जालको सहज पहुँचमा पुगेपछि कृषि उत्पादनबाट सोचेजस्तो उपलब्धि हासिल हुन नसकेको किसान बताउँछन्। धमाधम खेतीयोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आएको हो। ‘एक त खेतीयोग्य जमिन नै छैन। अर्को भएको जमिनमा पनि जाँगर लगाएर खेतिपाती गरिँदैन,’ स्थानीय ओमबहादुर थापाले भने, ‘यहाँ अन्नबालीको उत्पादनमा गिरावट आएको छ। आयातीत खाद्यान्नमा निर्भर देखिन्छ।’

खेतीसँगको मोह सहरी जीवनले घटाएको छ। अहिले यहाँका बुढापाकाले मात्र खेतिपाती गर्दै आइरहेको भए पनि युवाहरू पढाइ, लेखाइ र अन्य व्यापार व्यवसायमा संलग्न देखिन्छन्। पहिले सबैजना कृषि पेसा अँगाल्थे, उत्पादन पनि वर्ष भरी खान पुग्थ्यो तर अहिले ६ महिना पनि उत्पादनले धान्दैन।

जुम्लामा २०६३ सालको चैत ३० गते कर्णाली राजमार्गको ट्र्याक खुल्यो। जग्गाको मूल्य आकासियो। खेती गरेर उत्पादित कृषिजन्य वस्तुको भन्दा बढी पैसा जग्गा बेच्दा कमाउन थालेपछि किसानले धमाधम जग्गा बेच्न थाले। खेतीयोग्य जमिन घडेरी बनाउनका लागि बेच्न थाले। फलस्वरूप अहिले स्थानीय उत्पादनमा जुम्ला अघि बढ्न सकेको छैन।

कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाको खेतीयोग्य जमिनको आधाभन्दा बढी जमिनमा घर, उद्योग र कलकारखाना बनेका छन्। सडक पुगेपछि जिल्लाको विकासमा सहजता आए पनि कृषियोग्य जमिन मासिँदै जान थाल्यो। ‘आधुनिक खेती प्रणालीको विकास हुन सकेको छैन, परम्परागत कृषि पेसालाई राम्रोसँग अँगालेको पाइँदैन,’ स्थानीय किसान जगबहादुर बुढाले भने, ‘किसानले खेतीयोग्य जमिन बेच्नुबाहेक विकल्प छैन।’

खेतीसँगको मोह सहरी जीवनले घटाएको छ। अहिले यहाँका बुढापाकाले खेतिपातीको काम गर्दै आइरहेको भए पनि युवाहरू पढाइ, लेखाइ र अन्य व्यापार व्यवसायमा संलग्न देखिन्छन्। कतिपय त यहाँको खेती गर्ने प्रचलनलाई दिक्दारी मान्दै विदेशतिर जान थालेका छन्। पहिले सबैजना कृषि पेसा अँगाल्थे, उत्पादन पनि वर्ष भरी खानेगरी मिल्थ्यो तर अहिले ६ महिना पनि उब्जेको उत्पादनले धान्दैन। सिंगो जिल्ला आयातीत खाद्यान्नमा निर्भर छ। यो समग्र कर्णाली क्षेत्रका लागि दुखद पक्ष हो।’

चन्दननाथ नगरपालिका बोहोरा गाउँकी विष्णुमाया देवकोटाको खेतमा धान, जौ, मकै, कोदो फल्थ्यो। भान्सामा खेतबारीकै दाल र भात पाक्थ्यो। तर, अहिले तराईबाट आयातीत दैनिक उपभोग्य वस्तुको भरमै गुजारा चलेको छ। छोराछोरी पढ्न सहर पसे। खेती गर्दिने जनशक्ति नै भएन। चन्दननाथ नगरपालिका–८ का भैरव कर्णाली राजमार्गमा गाडी गुडेसँगै सदरमुकाम खलंगामा व्यापारमा संलग्न छन्। कृषिभन्दा व्यापार व्यवसायमा लागेपछि छोराछोरी पढाउनका लागि सहज हुने उनी बताउँछन्। उनले भने, ‘खेतिपाती अहिले किसानका लागि सामान्य बनिसक्यो। अधिकांशले पक्की घर बनाउने र भाडामा दिनेसमेत गरेका छन्।’

कर्णाली राजमार्ग सञ्चालन भएसँगै दुरदराजका धेरै मान्छे बजार प्रवेश गरे। कसैले व्यापार व्यवसाय गरेका छन् त कसैले घर घडेरी किनेर यतै बसाइसराइ गरिसके। जसकारण सदरमुकाम नजिकका खेतमा बिल्डिङ ठडिए, गाउँका जग्गा बाँझै छन्। चिनो, कागुनो र गहतलगायत बालीका लागि चिनिएको जुम्लामा अहिले ती उत्पादनको बिउ पाउन मुस्किल छ। गाउँमा न खेती प्रविधि लगिएको छ, न मान्छेको जाँगर छ। अहिले किनुवा खाद्यान्न भरमा यहाँको जनजीवन चलेको छ। दैनिक दिन खेतीयोग्य जमिनमा पक्की भवन ठडिँदासमेत कसैले खेतीयोग्य जमिनको पक्षमा वकालत गरेका छैनन्।

बाहिरका मानिस सदरमुकाममा रजाइँ गरेका छन् भने सदरमुकाम आसपासमा मानिस खेतीयोग्य जमिन बेचेर जाने क्रम बढेको छ। अव्यवस्थित सहरीकरणले पनि खेतीयोग्य जमिनमा असर परेको स्थानीय बताउँछन्।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो