नेपाल प्राध्यापक सङ्घले शिक्षा र स्वास्थ्यका सबै सेवा राज्यको दायित्वभित्र पार्नुपर्नेमा जोड दिएको छ । सङ्घको हीरक महोत्सवका अवसरमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रा डा बुद्धबहादुर थापाले शिक्षा र स्वास्थ्यको सबै जिम्मेबारी राज्यले लिनुपर्ने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यलाई राज्यको पूर्ण जिम्मेवारीभित्र पारेर निःशुल्क बनाउन सङ्घले माग गर्दै आएको जानकारी दिनुभयो । उहाँले नेपालमा पछिल्लो समय विश्वविद्यालयको स्थापना भद्रगोल तरिकाले गरिकाले भएकाले त्यसलाई गुणस्तरीय बनाउन कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्दा पनि पारदर्शी र परिपक्व प्रक्रिया नअपनाइएकाले गुणस्तरमा ह्रास आउँदै गएको टिप्पणी गर्नुभयो । “कतिपय विश्वविद्यालयका पदहरु त सत्तारुढ दलका कार्यकर्ता तथा समर्थकलाई जागिर दिन वा सेवासुविधा दिलाउनका लागि मात्रै दुरुपयोग भएकाले त्यसलाई तत्काल सुधार गर्नुपर्दछ”, पत्रकार सम्मेलनमा प्रा डा थापाले भन्नुभयो । उहाँले हरेक विषयमा पर्याप्त ज्ञान भएका प्राध्यापक आफूहरुसँग भए पनि सरकारले वास्ता नगरेको र भूमिका दिन नसकेको गुनासो गर्नुभयो । प्रा डा थापाले प्राध्यापक सङ्घ शिक्षा तथा बौद्धिक क्षेत्रका लागि दबाव समूह मात्रै भएकाले सरोकारवालालाई दबाव दिने वा घचघच्याउने गरे पनि सुनुवाइ भने नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सङ्घले भोलि बिहीबार काठमाडाँैमा आयोजना गरेको हीरक महोत्सव समारोहको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने र विभिन्न शैक्षिक सवालमा अन्तक्र्रिया गर्ने तय भएको उहाँले जानकारी दिनुभयो ।रासस
प्रतिक्रिया दिनुहोस्