शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।

बोर्डले कक्षा १२ को परिक्षा नजुध्ने गरी सञ्चालन गर्न निर्देशन दिएको हो । कक्षा १२ को शैक्षिक वर्ष २०७८ को परिक्षा यही जेठ १६ गते देखि हुने भएको छ ।

साथै, बोर्डले एक सुचना जारी गर्दै शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भईरहेको समेत जानकारी गराएको छ ।

बोर्डले जारी गरेको सुचनामा भनिएको छ , ‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७’ को परिच्छेद ७ को दफा ९ को ४ (१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापन र शाखा कार्यलयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराईने जानकारी गराइन्छ ।

विद्यार्थीले कक्षा ११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था रहेको र सो सम्बन्धमा कार्यविधिको परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकोले सोही अनुसार गर्न÷गराउन समेत बोर्डले निर्देशन दिएको छ ।