नेपाली कांग्रेसले सुर्खेत क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस गर्दा अघिल्लोपटकको विजेता नेकपा एमालेले निर्वतमान सांसद ध्रुवकुमार शाहीसहित तीनजनाको नाम सिफारिस गर्‍यो । गठबन्धनका कारण कांग्रेस उपसभापति खड्काका लागि निर्वाचन जति सहज देखिएको छ, आन्तरिक किचलोका कारण एमालेलाई उत्तिकै समस्या छ ।

देशको नेतृत्वकर्ताका रूपमा हेरिएका कांग्रेस उपसभापति खड्काको निर्वाचन क्षेत्र भएकाले सुर्खेत १ तर्फ सबैको ध्यान केन्द्रित छ । खड्का २०४८ यताका सबै संसद्मा पुग्ने थोरै राजनीतिज्ञमध्ये एक हुन् । २०७४ सालबाहेक खड्काले अहिलेसम्म निर्वाचन हार्नुपरेको छैन् । जनतामाझ विकासप्रेमी नेताको परिचय बनाएका खड्का अघिल्लो निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा तीन हजार ३८२ मतले पराजित भएका थिए ।

तत्कालीन वाम गठबन्धनका उम्मेदवार शाहीले ३६ हजार ७ सय ५९ मत पाउँदा खड्काले ३३ हजार ३ सय ७७ मत प्राप्त गरेका थिए । मंसिर ४ मा हुने निर्वाचनका लागि समीकरण फेरिएकोे छ । अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र अहिले कांग्रेससँग छ । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेको छ । सँगै खड्कालाई राष्ट्रिय जनमोर्चाको पनि साथ छ ।

समीकरण बदलिए पनि चुनावी मैदानमा भने खड्का र शाही नै छन् । गएको पाँच वर्ष खड्कालाई हराएर संसद्मा पुगेका शाहीले आफ्नो निर्वाचन क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको आरोप छ । शाहीले आफ्ना क्षेत्रका नागरिकको आवाजलाई संसद्मार्फत एकपटक पनि सम्बोधन गरेनन् ।

‘यो पाँच वर्षको अवधिमा यहाँका जनताले केन्द्रमा पहुँच भएको नेता पराजित हुँदाको अभाव महसुस गरिरहे’, कांग्रेस क्षेत्रीय सभापति झकबहादुर डाँगीले भने, ‘मंसिर ४ को निर्वाचनलाई यहाँका मतदाताले अभाव पूर्ति गर्ने उपयुक्त समय ठानेका छन् ।’

२०४८ को आमनिर्वाचनमा एमालेका हस्तबहादुर पुन, २०५१ र २०५६ मा ऋषिप्रसाद शर्मा र २०७० मा कमला शर्मालाई पराजित गरेका खड्का २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका शाहीसँग पराजित भए । २०७४ को निर्वाचनमा वाम गठबन्धनभन्दा कांग्रेस ६ हजार २ सय १३ मतले पछाडि थियो । सुर्खेत क्षेत्र १ मा सिम्ता र चिंगाड गाउँपालिका, भेरीगंगा, लेकबेसी र गुर्भाकोट नगरपालिकाका साथै वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ नम्बर वडा पर्छन् ।

वैशाख ३० को स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने यहाँ कांग्रेस पहिलो शक्ति छ । कांग्रेसले सुर्खेत क्षेत्र नं १ अन्तर्गतका स्थानीय तहमा ३७ हजार २२ मत प्राप्त गरेको थियो भने एमालेले ३५ हजार ५० मत प्राप्त गरेको छ । गठबन्धन दलमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितको मत जोड्दा गठबन्धन दल आठ हजार २ सय ३७ मतले अगाडि छ ।

खड्काको व्यक्तित्व र विकास निर्माणमा गरेको कामका आधारमा पनि उनलाई जनताले भोट दिने गरेका छन् । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनभन्दा ६ हजार २ सय १३ मतले पछाडि हुँदा पनि खड्का ३ हजार ३ सय ८२ मतले पराजित भएका थिए । ‘पछिल्लो पाँच वर्षमा जितेका माननीयले भन्दा खड्काले यो क्षेत्रका लागि धेरै महत्वपूर्ण काम गर्नुभएको छ’, उनले भने, ‘रामघाटमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, सरुवा रोग अस्पताल, फोरलेन छिन्चु–जाजरकोट सडक खण्ड, जहरे हुँदै सिम्तासम्म कालोपत्रे सडक, रामघाट–दशरथपुर जोड्ने पक्की पुललगायतका कामका आधारमा पनि जनताले उहाँलाई रोज्नेछन् ।’

एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शाही अधुरा काम पूरा गर्नका लागि मतदाताले आफूलाई रोज्ने बताउँछन् । ‘पाँच वर्षमा मेरो निर्वाचन क्षेत्रमा उल्लेख्य काम भएका छन्’, शाहीले भने, ‘केही अधुरा काम पूरा गर्नका लागि पनि मतदाताले मलाई रोज्नुहुन्छ ।’ एमालेले वैशाख ३० को स्थानीय तह निर्वाचनमा गठबन्धनसँग एक्लै लडेको थियो । सुर्खेतमा एमालेले अघिल्लो स्थानीय तह निर्वाचनमा राम्रो नतिजा ल्याएको छ ।

सुर्खेत १ मा पर्ने पाँच पालिकामध्ये एमालेले तीनवटा पालिकामा जित निकालेको छ । २०७४ मा कांग्रेसले जितेको भेरीगंगा नगरपालिका र चिंगाड गाउँपालिका एमालेले जितेको छ । उतिबेला जितेको लेकबेसी नगरपालिका एमालेले गुमाएको छ । ‘अघिल्लो निर्वाचनमा सुर्खेत क्षेत्र नंं १ अन्तर्गतका पाँच पालिकामध्ये हामीले दुई जितेका थियौैं, यसपटक गठबन्धन हुँदा पनि तीन पालिका जित्न सफल भएका छौं’, एमाले सुर्खेतका सचिव कविन्द्रकुमार केसीले भने, ‘प्रतिनिधिसभामा पनि सोहीअनुसारको नतिजा आउनेमा हामी विश्वस्त छौं ।’

नागरिक न्युजबाट साभारछ ।