राष्ट्रियसभाबाट ‘औषधि ९तेस्रो संशोधन० विधेयक, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७९’ पारित गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गर्नुभएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो ।

औषधि ९तेस्रो संशोधन० विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद डा वेदुराम भुसाल र संयुक्त संशोधनकर्तामध्येबाट प्रकाश पन्थले नेपालमा खोप तथा औषधिको आपत्कालीन प्रयोग गर्न दिने विषय विधेयकमा रहेकाले ‘क्लिनिकल ट्रायल’ क्रममा कुनै व्यक्तिको शारीरिक तथा मानसिकरूपमा नकारात्मक असर गरेमा, अङ्गभङ्ग भएमा वा मृत्यु भएमा क्षतिपूर्ति दिने विषय समेटिनुपर्ने बताउनुभयो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै संंयुक्त संशोधनकर्तामध्येबाट सांसद पन्थले एम्बुलेन्स र शववहानको सुरक्षासम्बन्धी विषयलाई पनि विधेयकमा समेट्नुपर्ने बताउनुभयो । सांसद डा भुसालले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नभई सम्बन्धित जिल्ला अदालतलाई दिइनुपर्ने बताउनुभयो ।

छलफलमा उठेको विषयमा जवाफ दिँदै स्वास्थ्यमन्त्री खापुङले सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका र त्यस्ता निकायले आपत्कालीन प्रयोगको अनुमति दिएका खोप वा औषधिलाई नेपालमा दर्ता गरी सो खोप वा औषधिलाई आपत्कालीन प्रयोग गर्न दिने प्रयोजनका लागि ऐन ल्याइएको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले आपलत्कालीन प्रयोगका लागि अनुमति दिएको खोप वा औषधिको मात्र प्रयोग गरिने विश्वास दिलाउँदै उहाँले त्यस्ता औषधि तथा खोपको प्रयोगबाट मावनीय क्षति हुन्छ भनेर त्रास लिन नहुने बताउनुभयो । मन्त्री खापुङले स्वास्थ्य संस्थामाथि हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने हातपातको घटना रोक्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक संशोधन गरिएको बताउनुभयो ।
–––रासस