
हेटौंडा । हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा पाँचौ संस्करणको हेटौंडा उपमहानगरपालिका मेयरकप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्धाटन खेलमा वडा नम्बर–११ ले विजयी सुरुवात गरेको छ । वडा नम्बर–११ ले साविक विजेता वडा नम्बर–४ लाई ३–० गोलले सहजै पराजित गरेको हो । वडा नम्बर–११ को तर्फबाट पहिलो हाफको १६ औँ मिनेटमा पवन राइले हेड गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफको २७ मिनेटमा सम्बन्ध डिम्डुङले गोल गर्दै अग्रतालाई कायम राखेका थिए । खेलमा अतिरिक्त ४ मिनेटको समय थप गर्दा मनोज घलानले गोल गर्दै टिमलाई जिताएका हुन् । खेलको म्यान अफ द म्याच पहिलो गोलकर्ता ११ नम्बर वडाका पवन राइ घोषित भएका छन् । उनलाई २ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्धाटन भएको हो ।
उपमहानगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको फाइनल खेल जेठ १३ गते हुनेछ । उद्घाटन कार्यक्रममा सदस्य विजय गौतम, सुनिल लोप्चन, यज्ञ बहादुर राय (विनोद), वडाध्यक्षहरुको आतिथ्य रहेको थियो । नगर खेलकुदले यस वर्षबाट प्रतियोगिताको पुरस्कार राशिको रकम बढाएको हो ।
प्रतिक्रिया दिनुहोस्