बल नियन्त्रणमा लिने प्रयास गर्दै गुलाबी जर्सीमा ११ नम्बर वडाका खेलाडी (बायाँ) र ४ नम्बर वडाका खेलाडी निलो सेतो जर्सीमा (दायाँ)

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा तथा उपमहानगरपालिकाको सहयोगमा शनिबारबाट सुरु भएको पाँचौ संस्करणको मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार पहिलो चरणको दुई खेलहरु सञ्चालन हुँदैछ । हेटौंडा–५,पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु हुने पहिलो खेलमा हेटौंडा–३ र हेटौंडा–१३ को टिमबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा हेटौंडा–९ र हेटौंडा–१६ को टिमबीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम जीतको योजना सहित मैदानमा उत्रने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा हेटौंडा–११ को टिमले साविक विजेता हेटौंडा–४ को टिमलाई सहजै ३–० गोल अन्तरले सहजै पराजित गरेको थियो । नगर खेलकुदले यसवर्षबाट प्रतियोगिताको पुरस्कार राशिको रकम बढाएको हो । प्रतियोगितामा १९ वटा वडाको टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ १३ हुने बताइएको छ ।

मेयरकप फुटबल प्रतियोगिताको उद्घाटन खेल सुरु हुनुअघि मैदान प्रवेश गर्दै हेटौंडा–४ का टिम क्याप्टेन तथा हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक भीम लामा ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ ।