रामचन्द्र वाग्ले
मोलुस्काबेस (मोलुस्का प्रजातिबारे उल्लेख गरिएको वेबसाइट)का अनुसार हाल विश्वमा ५० हजारदेखि ५५ हजार समुद्री, २५ हजारदेखि ३० हजार स्थलीय र छ हजारदेखि सात हजार ताजा पानीका मोलुस्का प्रजाति छन् । तीमध्ये विशाल अफ्रिकी शङ्खेकीरा जमिनमा पाइने शङ्खेकीरामध्ये सबैभन्दा ठूलो शङ्खेकीरा हो । यो मिचाहा प्रजातिको शङ्खेकीरा पनि हो । यसको वैज्ञानिक नाम ‘अचाटिना फुलिका’ हो । यो मोलस्का फाइलम, ग्यास्ट्रोपोडा कक्षा, अचाटिनोइडिया अर्डर र अचाटिनिडेई परिवारअन्तर्गत पर्छ । विशाल अफ्रिकी शङ्खेकीरा बीस सेन्टिमिटरसम्म लामो, ४५० ग्रामसम्म तौल र १३ सेन्टिमिटरसम्म व्यास भएको हुन्छ । यसको शरीर कडा आवरणले ढाकिएको हुन्छ; जसले अधिकतम सुरक्षा प्रदान गर्छ ।
एउटा विशाल अफ्रिकी शङ्खेकीरामा भाले र पोथी दुवै प्रजनन अङ्ग हुन्छ । यसले छ महिना पुगेपछि पहिलो पटक फुल पार्छ । एक अध्ययनअनुसार एउटा विशाल अफ्रिकी शङ्खेकीराले एक पटकमा एक सयदेखि पाँच सय फुल र एक वर्षमा एक हजार २०० वटासम्म फुल पार्न सक्छ । यो तीनदेखि दस वर्षसम्म बाँच्न सक्छ । यसको टाउकोमा दुई जोडी टेन्टाकल्स हुन्छन् । एक जोडी छोटा टेन्टाकल्स टाउकाको तल्लो भागमा हुन्छ भने अर्को जोडी लामा टेन्टाकल्स टाउकाको माथिल्लो भागमा हुन्छ । यसको दुईवटा गोलो आँखा लामो टेन्टाकल्सको टुप्पोमा हुन्छ । सालगाडोले सन् २०१० मा गरेको अध्ययनअनुसार यसको मुखमा काँडाजस्तो म्यान्डिबल र रेडुला हुन्छ; जसमा करिब १४२ पङ्क्ति दाँत हुन्छन् । यसको एक पङ्क्तिमा १२९ वटा दाँत हुन्छन् ।
मिचाहा भन्नेबित्तिकै अरूलाई मिच्ने, दबाउने वा असर पार्ने भन्ने बुझिन्छ । त्यस्तै यो विशाल अफ्रिकी शङ्खेकीराले पनि थुपै्र प्रकारका उपयोगी वनस्पतिलाई असर गर्ने वा नष्ट गर्ने गर्दछ । यो शाकाहारी जीव हो । यसको मुख्य आहारा वनस्पतिका पात, फल र फूल हुन् । एक अध्ययनअनुसार यसले पाँच सयभन्दा बढी प्रजातिका बोटबिरुवा खाने गर्छ । त्यसमा मेवा, सिमी, केराउ, काँक्रा र खरबुजा आदि जस्ता उपयोगी वनस्पति पनि पर्छन् । यसको अलावा यस जीवले वनस्पति र जन्तुमा रोग पैदा गर्न सक्ने कीटाणु बोकेको हुन्छ । यस जीवमा मानिसलाई मेनिन्जाइटिस रोग लगाउन सक्ने नेमाटोड परजीवी पनि पाइन्छ । घरमा लगाइएका पेन्ट र प्लास्टर पनि यो कीराले नष्ट पार्छ । रातको समयमा यो जीव ५० मिटर परसम्म हिँड्न सक्छ । अफ्रिकी विशाल शङ्खेकीरा जति धेरै भयो, त्यति बालीनाली क्षति हुन्छ । पुराना स्थानमा भन्दा नयाँ स्थानमा यसले छिटो र धेरै क्षति गर्छ ।
विभिन्न देशबाट जानी जानी वा नजानी थुप्रै प्रकारका जीवजन्तुु र वनस्पति अन्य देशमा लैजाँदा यस्ता मिचाहा प्रजाति सिर्जना हुन्छन् । विदेशबाट आयातित सबै सजीव मिचाहा हुँदैनन् । विदेशबाट आयातित थुप्रै सजीवमध्ये केवल केही वनस्पति अथवा जीव मात्रै मिचाहा प्रजाति बन्छन् । छोटकरीमा भन्नुपर्दा सबै आयातित सजीव वस्तु मिचाहा हुँदैनन् तर सबै मिचाहा प्रजाति विदेशी र आयातित नै हुन्छन् ।
अन्य देशबाट हाम्रो देशमा वा हाम्रो देशबाट अन्य देशमा थुप्रै सजीव वस्तु आयात र निर्यात हुन्छन् । यसरी आयात वा निर्यात भएका सबै जीव र वनस्पति नयाँ वातावरणमा बाँच्न सक्दैनन् । केवल केही वनस्पति र जीव मात्रै बाँच्न सक्छन् । त्यस्ता प्रजातिलाई विदेशी प्रजाति भनिन्छ । हामीले खाने आलु, मकै, धान आदि पनि विदेशी प्रजाति नै हुन् । यस्ता प्रजातिमध्ये पनि केहीले रैथाने प्रजातिलाई हानि नोक्सानी गर्ने र मार्ने गर्छन् । त्यस्ता प्रजातिलाई मिचाहा प्रजाति भनिन्छ ।
एक ठाउँबाट अर्को ठाउँमा लगिएका सजीवमध्ये दस प्रतिशत मात्रै नयाँ स्थानमा बाँच्न सक्छन् । बाँकी ९० प्रतिशत नयाँ वासस्थानमा बाँच्न सक्दैनन् । ती बाँचेका दस प्रतिशत प्रजातिमध्ये केवल दस प्रतिशत प्रजाति मात्रै मिचाहा बन्न सक्छन् । सामान्य भाषामा भन्नुपर्दा हामीले एक सय प्रजातिका सजीव अन्य देशबाट आयात ग¥यौँ भने केवल दस प्रजाति मात्रै बाँच्न सफल हुन्छन् । ती बाँचेका दस प्रजातिका सजीवमध्ये एक प्रजातिको मात्रै मिचाहा प्रजातिका रूपमा विकास हुन्छ । यसलाई ‘टेन्स रुल’ अर्थात् ‘दसको नियम’ भनिन्छ ।
विशाल अफ्रिकी शङ्खेकीरा अफ्रिका महादेशको केन्या र तान्जानियाको रैथाने जीव हो । पछि लुकिछिपी विभिन्न प्रयोजनका लागि यो जीव अन्य देशमा लैजाँदा मिचाहाका रूपमा विकसित भएको हो । अहिले यो जीव विश्वका धेरै देशमा पाइन्छ । यस जीवलाई विश्वका सबैभन्दा खराब मिचाहा प्रजातिको सूचीमा राखिएको छ ।
यस जीवले बर्सेनि लाखौँको क्षति गरिरहेको छ । यो जीव किसानको ठूलो शत्रु हो । समयमै यसको सङ्ख्या नियन्त्रण गर्न सकिएन अथवा यसको सङ्ख्या निरन्तर बढ्दै गयो भने यसले कृषि क्षेत्रलाई ध्वस्त बनाउने छ । यस जीवको कारण भोकमरी, महँगी, अनिकाल आदिको समस्या सिर्जना हुन सक्छ । यसतर्फ नेपाल सरकारले पनि ध्यान दिनुपर्छ ।
यस जीवलाई पन्छी, सरिसृप र स्तनधारी जीवले सिकार गर्छन् । त्यस्ता सिकारी जीवको संरक्षण गरियो भने वातावरणलाई कुनै पनि प्रकारको हानि नोक्सानी नगरी जैविक रूपमा विशाल अफ्रिकी शङ्खेकीरा नियन्त्रण गर्न सकिन्छ । अन्यथा यस जीवलाई नियन्त्रण गर्न निकै कष्ट र ठूलो धनराशि खर्च हुने देखिन्छ । ‘कपर सल्फेट सोलुसन’ प्रयोग गरेर पनि यसको सङ्ख्या नियन्त्रण गर्न सकिन्छ । ‘इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट’ विधि यस जीवको नियन्त्रणका लागि निकै महत्त्वपूर्ण विधि हो ।
विभिन्न देशमा यस जीवको मासु खाने गरिन्छ । यसको मासुमा थुप्रै रोग निम्त्याउन सक्ने परजीवी हुने भएकाले यसको मासु खाँदा राम्ररी पकाएर मात्र खानुपर्छ । जिउँदो अफ्रिकी शङ्खेकीरालाई नाङ्गो हातले समाउन हुँदैन । पञ्जा लगाएर समाउनु पर्छ । समाएपछि हात राम्ररी धुनुपर्छ । यसको म्युकस (¥याल) हाम्रो आँखा, नाक र मुख आदिमा पर्नबाट जोगाउनुपर्छ । यसले गर्ने हानि–नोक्सानी र यसको रोकथामका उपायबारे सबै मानिसलाई जानकारी गराउनुपर्छ ।
यो जीव त नेपालमा भित्रियो तर यस्तै अन्य मिचाहा जीव तथा वनस्पति नेपालमा नभित्रियोस् भन्ने हो भने यस्ता सजीव वस्तु आयात गर्दा सीमामा कडा चेकजाँच गर्नुपर्छ । यसका साथै विदेशबाट भित्रिने सम्पूर्ण सजीव वस्तुलाई क्वारेन्टाइनमा राखी राम्ररी अवलोकन गरेपछि मात्र भित्र्याउनुपर्छ । हानिकारक र मिचाहा प्रजाति रहेछ भने त्यहीँ नष्ट गर्नुपर्छ ।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्