गएको माघमा दुर्लभ गिद्धहरू घाइते भएका र मरेका दुःखद समाचारहरू सञ्चारमाध्यममा प्राथमिकतासाथ प्रकाशित भए । तनहुँको व्यास नगरपालिका–१० सिसुवा भतेरीमा गौ संरक्षण केन्द्र आसपास ६ वटा गिद्ध करेन्ट लागेर मरे । मिदिम हाइड्रोपावरको भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइनको पोलमा बस्ने क्रममा र उड्ने बेला करेन्ट लागेर तथा ठोक्किएर हरेक वर्ष बीसभन्दा बढी गिद्ध मर्ने र त्यत्तिकै संख्यामा घाइते हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

 

माघमै रूपन्देहीको तिलोत्तमामा हाइटेन्सन लाइनमा ठोक्किएर एउटा गिद्ध मर्‍यो भने अर्को घाइते भयो । रूपन्देहीकै गैंडातालमा दुइटा र मोरङमा एउटा घाइते गिद्धको उद्धार गरियो भने दाङको तुल्सीपुरमा दुई गिद्ध करेन्ट लागेर मरे । माघ तेस्रो साता पृथ्वी राजमार्ग विस्तारको निहुँमा, तनहुँको शुक्लागण्डकीमा विश्वकै दुर्लभ अति संकटापन्न सानो खैरो गिद्ध गुँड बनाएर ओथारो बसिरहेको सिमलको रूख ढालियो । विश्वमा पाइने २३ प्रजाति र नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये सबैभन्दा कम संख्यामा रहेको सानो खैरो गिद्धको गुँडमा बचेरा हुर्काउन्जेल दुई महिना असर नपुर्‍याउन संरक्षणकर्मीहरूले गरेको हारगुहारलाई लत्याउँदै त्यो रूख काटिनु विश्व संरक्षण समुदायमाझ लज्जास्पद र संवेदनहीन घटना हो । आजीवन जोडी बाँध्ने र वर्षको एकपटक एउटा मात्र अन्डा पार्ने सानो खैरो गिद्धको संख्या नेपालमा ५० हाराहारी मात्र छ । यसपटकको प्रजनन अवधिमा देशभर ६ वटा मात्र गुँड भेटिएका छन् ।

करिब अढाई दशकअघिसम्म संसारमा सबैभन्दा सजिलै र ठूलो संख्यामा देख्न पाइने चरा गिद्ध अचेल सबैभन्दा तीव्र गतिमा घटिरहेका प्रजाति हुन् । सन् १९८० को दशकमा नेपालमा अनुमानित १० लाखदेखि १६ लाखको संख्यामा पाइने गिद्धहरू पछिल्लो दशकसम्म आइपुग्दा ९० प्रतिशतभन्दा बढीले घटी २० हजारभन्दा कममा सीमित हुन पुगेका छन् । नेपालमा हाल पाइने ८ प्रजातिका अति संकटापन्न चरामध्ये ४ प्रजाति त गिद्धकै नै छन् । संरक्षण संकटको सूचीमा गिद्ध बाघ, हिउँचितुवा, गैंडा, हात्ती, हाब्रेभन्दा पनि अगाडि छन् । सिनो खाएर वातावरण स्वच्छ, सफा र सन्तुलित राख्ने एवं प्रकृतिको कुचीकार मानिने गिद्ध विनाशको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो । सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशुको मृत्युपश्चात् त्यो सिनो खाँदा गिद्धको मिर्गौलामा असर पर्छ । गिद्धहरू समूहमा सिनो खाने गर्छन् र ३० मिलिलिटरको एक भाएल डाइक्लोफेनेकबाट संक्रमित एउटै सिनो खाए मात्र पनि ३५० देखि ८०० सम्म गिद्ध मर्न सक्छन् । सिनोमा विष हाल्नाले पनि गिद्ध मरिरहेका छन् । गत वैशाखमा नवलपरासीको रामग्राममा ६९ भन्दा बढी गिद्ध विष हालेको सिनो खाँदा एकै ठाउँमा मरेका थिए । त्यस्तै, पछिल्ला वर्षहरूमा पशु उपचारका लागि बजारमा आएका नयाँ पेनकिलरहरू एसिक्लोफेनेक, किटोप्रोफेन र निमुस्लाइड पनि गिद्धका लागि हानिकारक प्रमाणित भएका छन्, जसको प्रयोगमा पनि रोक लगाउनुपर्ने देखिन्छ ।

गिद्ध संरक्षणका लागि नेपाल सरकारले सन् २००६ मा पशु उपचारमा डाइक्लोफेनेकको प्रयोगमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग सुरु गर्‍यो । त्यसै बेलादेखि गिद्धलाई डाइक्लोफेनेकरहित सुरक्षित आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले स्थानीय समुदायको सक्रियतामा समुदायस्तरमा जटायु (गिद्ध) रेस्टुरेन्टको सञ्चालन पनि गरियो । त्यसपछि गिद्ध संरक्षणका लागि स्थानीय र अन्तरदेशीय साझेदारीलाई अझ व्यापक र प्रभावकारी बनाउन गिद्ध सुरक्षित क्षेत्रको अवधारणामा केन्द्रित भएर कार्यक्रमहरू अघि बढाइए । फलस्वरूप, पछिल्ला वर्षहरूमा गिद्धलाई सुरक्षित ठानिएको मेलोक्सिक्यामको पशु उपचारमा प्रयोग करिब ९० प्रतिशत छ भने हानिकारक डाइक्लोफेनेकको प्रयोग शून्य । यसको सकारात्मक प्रभाव गिद्ध संरक्षणमा पर्‍यो । सन् २००२ देखि २०११ सम्म ९० प्रतिशतभन्दा बढीले घटेका दुई लोपोन्मुख डंगर गिद्ध र सानो खैरो गिद्धको संख्या क्रमशः २०१२ र २०१३ देखि सन् २०१८ सम्म आंशिक रूपमा बढेको छ । गिद्ध संरक्षणमा यो उपलब्धि कोसेढुंगा हो भने विश्व संरक्षण समुदायका लागि अनुकरणीय पनि । यसका लागि नेपाल सरकारले सन् २००९–१३ र २०१५–१९ मा लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजनाले महत्त्वपूर्ण मार्गदर्शन गरेको छ ।

गिद्ध संरक्षणमा पाएका यिनै उपलब्धिहरूका आधारमा नेपाललाई मंसिर तेस्रो साता सम्पन्न ‘एसियाली गिद्ध लोप हुनबाट बचाऔं ः सेभ’ को एघारौं बैठकमा गिद्धका लागि विश्वकै पहिलो सुरक्षित क्षेत्र भनी घोषणा गरियो । गण्डकी र लुम्बिनी प्रदेशका गिद्धको घना बासस्थान, सुरक्षित आहार केन्द्र र विचरण क्षेत्रलाई समेटी करिब ७ हजार २ सय ७८ वर्गकिलोमिटर क्षेत्रफलले ‘गिद्ध सुरक्षित क्षेत्र’ को मान्यता पाएको हो । विडम्बना, यसै क्षेत्रभित्र धमाधम गिद्ध मारिनुले यो चराको दिगो संरक्षण र प्राप्त उपलब्धि जोगाइराख्ने प्रतिबद्धतामाथि नै प्रश्न खडा भएको छ । नेपालमा करिब दुई दशकअघिदेखि घनीभूत रूपमा अघि बढाइएको लोपोन्मुख गिद्ध संरक्षण अभियानबाट प्राप्त सफलता टिकाइराख्न यसले चुनौती थपेको छ ।

नेपालमा पन्छी संरक्षण संघको अध्ययनअनुसार, सन् २०१० देखि २०२१ सम्म देशभर ५० भन्दा बढी गिद्धलाई करेन्ट लाग्यो र करिब १ सय ३० गिद्ध मरे । हिमाली प्रकृतिका तुल्सी सुवेदीको नेतृत्वमा लुम्बिनी, पोखरा र काठमाडौंमा गरिएको एउटा अध्ययनमा पनि करेन्ट लागेका वा ठोक्किएका ५८ दुर्घटनामा १५ प्रजातिका चरा परेको देखिन्छ । ती ठाउँमा ३ प्रजातिका १० गिद्ध मरेको पाइएको छ । अधिकांश घटनामा विद्युत् प्रसारणका संरचनाहरू नै बढी दोषी पाइएका छन् । दुःखद कुरा, ठुल्ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका परियोजनाहरू सुरु गर्नुअघि गरिने वातावरणीय प्रभाव मूल्यांकनलाई हामीले सामान्य रूपमा लिने गरेका छौं । दक्ष विषयगत विज्ञबाट गम्भीरता र जिम्मेवारीपूर्वक वातावरणीय प्रभाव मूल्यांकन गरिएको खण्डमा गिद्धसहित अन्य चरा र वन्यजन्तुका बासस्थान र मुख्य विचरण क्षेत्रको पहिचान समयमै हुनुका साथै निर्माण र तत्पश्चात् हुने जोखिम पनि न्यूनीकरण गर्न सकिन्छ । यस्तो हुन सके सडक विस्तारका अन्य काम सुरु हुनुपुर्व नै गिद्धको गुँड भएकै रूख काट्नेजस्तो बहुलट्ठीपूर्ण निर्णय गर्नुपर्दैन । अन्तर्राष्ट्रिय दातृसंस्थाहरूको सहयोग र राज्यकै लगानीमा बन्दै गरेका परियोजनाहरूमा भएका यस्ता दुर्भाग्यपूर्ण घटना हुनुले नेपाल पक्षराष्ट्र भएका वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, अभिसन्धि तथा सम्झौताहरूकै खिल्ली उडेको छ । विद्युत् प्रसारण लाइन पनि त्यस्ता दुर्लभ प्रजातिका वन्यजन्तुको बासस्थान अथवा मुख्य आहार तथा विचरण क्षेत्र छलेर लैजान सकिन्छ । चराहरूलाई करेन्ट लाग्न र ठोक्किनबाट जोगाउन संरचनामा थोरै सुधार गर्नु मात्र पनि पर्याप्त हुन्छ; जस्तो— विद्युत् प्रसारण तारहरूबीचको दूरी गिद्धजस्ता ठूला चराको पखेटाको लम्बाइभन्दा बढी राख्ने, पोलको क्रसआर्ममा तारहरू माथिबाट लैजानुको सट्टा मुनिपट्टिबाट लैजाने र पोलमा पर्ने तारलाई कुचालक पदार्थले छोप्ने, चराहरूको आवतजावत बढी हुने क्षेत्रका पोल र प्रसारण लाइनमा चराहरूलाई बस्न र त्यता आउनबाट रोक्न ‘पर्च डिटरेन्ट’ र ‘डिफ्लेक्टर’

राख्ने । यति मात्र गर्ने हो भने पनि तनहुँको व्यासमा दिनहुँ भइरहेको गिद्धको दुर्घटनालाई न्यून गर्न सकिन्छ । सबै प्रसारण लाइनहरू भूमिगत र इन्सुलेसन गर्न नसके पनि सामान्य खर्च मात्र लाग्ने यस्ता सुरक्षाका उपायहरू अवलम्बन गर्दा पनि दुर्लभ चराको ज्यान जोगाउन सकिन्छ । संसारभर नै गिद्ध, चील, गरुड, सारसजस्ता ठूला चराहरूका लागि विद्युतीय तारहरू र ठूला भौतिक संरचना समस्याका रूपमा खडा भएका छन् । तर अन्य देशमा ती संरचना वस्तुगत वातावरणीय प्रभाव मूल्यांकनको सुझावअनुरूप अधिकतम रूपमा चरामैत्री बनाउने गरेको पाइन्छ । यसले चराहरूलाई मात्र होइन, चराहरू ठोक्किँदा अथवा करेन्ट लाग्दा विद्युत् प्रवाहमा हुने गडबडी र त्यसबाट उत्पन्न हुन सक्ने दुर्घटना र क्षतिबाट पनि जोगाउँछ ।

अन्त्यमा, व्यापक रूपमा विस्तारित र दिन–प्रतिदिन बढ्दै गइरहेका विद्युत् प्रसारणका संरचनाहरूलाई चरा–अनुकूलित बनाऔं । गिद्धजस्ता दुर्लभ चरा र अन्य वन्यजन्तुका बासस्थान, आहार र विचरण क्षेत्र तथा पर्यावरणीय महत्त्वका सम्पदामा गरिने ठूला विकास–निर्माणमा संवेदनशील बनौं । हाम्रो सानो हेलचेक्र्याइँले पर्यावरणमा ठूलो विनाश हुने भएकाले प्रकृतिमैत्री अभ्यास गरौं ।

यो समाचार कान्तिपुर बाट साभार गरिएके हो