धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत भेटिएकी महिलाको सनाखत भएको छ। प्रहरीका अनुसार मृतकको छोरा र छोरीसहित आफन्त, छिमेकी आएर मृतकको सनाखत गरेका हुन्।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार मृतक इटहरी ५ मा डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङ हुन्। उनी इटहरीमा एक छोरा र छोरीको साथमा बस्दै आएकी थिइन्। मृतकका श्रीमान भने ब्रुनईमा छन्। भारतीय सेनाबाट अवकाश पाएपछि उनी ब्रुनई गएको छिमेकीहरुले बताएका छन्। सनाखत गर्न आएका छिमेकीका अनुसार मृतकको अनुहारमा चोटपटक देखिएकोले कुटपिट गरेर हत्या भएको अनुमान गरे।

मृतक २ दिनअघि एक पुरुषसँग आएर होटलमा आएर बसेको होटल सञ्चालक सुशिल जिमीले जानकारी दिएका छन्। ती पुरुष को थिए भनेर खुलिसकेको छैन। आज बिहानै कोठा सफा गर्न गएका कर्मचारीले महिला मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। उनीसँगै भएका पुरुष भने फरार छन्। डिएसपी कुँवरले फरार पुरुषको पहिचान गरेर पक्राउ गर्न अनुसन्धान भइरहेको बताए। ‘मृतकको सनाखत भएर मुचुल्का हुदैछ, मृतकसँग आएर को बसेको हो भनेर पहिचान गर्न लागेका छौ,’डिएसपी कुँवरले भने।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो