रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आउने भएका छन् ।

भदौ ३० गते हुने स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न उनी हेटौडा आउने भएका हुन् ।

स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि पहिलो पटक हेटौडाबाट विभागले आफ्नो पहिलो कार्यक्रम सुरु गर्ने भएको छ । विभागको प्रमुखमा नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य छन् । मकवानपुरबाट सुरु हुने भेला देशभर हुने भनिएको छ ।

कार्यक्रमको तयारी सुरु गरिएको नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले जानकारी दिए । उनले बताए अनुसार कार्यक्रममा स्थानीय तह वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सबैलाई बोलाइएको छ ।

स्थानीय तहमा निर्वाचित भएको साढे २ वर्षमा गरेका काम र देखापरेको चुनौतीहरुको विषयमा जनप्रतिनिधिहरुबीच अन्तरक्रिया हुने छ ।निर्वाचित जनप्रतिनिधिका साथै भेलामा निर्वाचनमा भाग लिएका उम्मेदवारहरुसमेत सहभागी हुन पाउने बताए ।