कोरोना भाइरस संक्रमणका कारण पर्यटन क्षेत्रले झन्डै दुई वर्षदेखि मार खेपिरहेको छ। कोरोनाका कारण विश्वभरको पर्यटन व्यवसाय प्रभावित भएसँगै नेपाल पनि अछुतो रहन सकेन। नेपालका पर्यटकीय गन्तव्य र प्रडक्टले विदेशी पाहुना नदेखेको महिनौ भयो। बल्ल यतिबेला संंक्रमण केही कम भएकोले पाहुना आगमन बढ्ने संकेत देखिएको व्यवसायीको भनाई छ।

तर, पर्यटकीय गन्तव्यबारे जानकारी दिने विश्वकै चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले भने सन् २०२२ मा घुम्नैपर्ने मुलुकको उत्कृष्ट दशभित्रको सूचीमा नेपाललाई समेटेको छ। विश्वका अरु चर्चित पर्यटकीय मुलुकसँगै नेपाल पनि घुम्नैपर्ने उत्कृष्ट दशभित्र परेको छ। लोन्ली प्लानेटले घुम्नैपर्ने उत्कृष्ट दश मुलुकसँगै दशवटा क्षेत्र र दशवटै सहरको सूची पनि सार्वजनिक गरेको छ।

उत्कृष्ट दशभित्रको सूचीमा पहिलो नम्बरमा कुक आइल्याण्ड परेको छ। दोश्रो नम्बरमा नर्वे, तेश्रोमा मौरिसस, चौथोमा बेलिज परेका छन्। पाँचौ नम्बरमा स्लोभेनिया, छैठौंमा एङगुइला, सातौमा ओमान, आठौमा नेपाल, नवौंमा मालावी र दशौंमा इजिप्ट परेका छन्। ‘विश्वका दुईसय मुलुकमध्ये उत्कृष्ट १० भित्र पर्नु नेपालको पर्यटन क्षेत्रका लागि गौरवको कुरा हो,’ पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन्, ‘कोरोना संक्रमणले झन्डै दुई वर्षदेखि थलिएको बेला नेपालको पर्यटन क्षेत्रलाई नै राहत दिनेगरि लोन्ली प्लानेटले सूची निकालेको छ । यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्छ।’

आगामि नोभेम्बरको १ देखि ३ सम्म बेलायतमा वल्र्ड ट्राभल मार्केट (डब्लुटिएम) चल्दैछ। नेपालले यो पटक डब्लुटिएममा सहभागिता जनाउँदैछौ। वर्षाैदेखि डब्लुटिएममा सहभागि हुँदै आएको नेपाल पोहोर कोरोना संक्रमणका कारण भौतिक रुपमा सहभागि हुन सकेको थिएन। तर, यो पटक नेपालको सहभागिता निश्चित भईसकेको छ। डब्लुटिएम सुरु हुनु अघि सार्वजनिक भएको यो सूचीले नेपालको पर्यटन क्षेत्रलाई थप प्रवद्र्धन गर्ने उनले बताए।

‘विश्वमै घुम्नैपर्ने १० वटा मुलुकभित्रको सुँचीमा नेपाल पर्नु सबैका लागि खुसीको कुरा हो। डब्लुटिएमको पूर्वसन्ध्यामा यो सुँची सार्वजनिक हुनु झनै राम्रो हो,’ उनले भने, ‘यसले सिंगो नेपालको पर्यटन बजारमा महत्व राख्छ।’ कोरोना भाइरस संक्रमणको मारमा रन्थनिएको बेला विश्वभरका पाहुनाको विश्वास जितेको लोन्ली प्लानेटले उत्कृष्टभित्र समेट्दा आगामि दिनमा पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गर्न सकिने उनले बताए।

‘नेपाल घुम्न आउन चाहेका विदेशीको चाख अझ बढ्नेछ। यसले नेपालको पर्यटन बजारलाई र उपस्थितिलाई अझ बलियो बनाउँछ,’ लामिछानेले भने, ‘नेपाल घुम्नलायक गन्तव्य हो भनेर विश्वभर नै पहिचान फैलिनेछ।’ उनका अनुसा लोन्ली प्लानेटलाई विश्वकै विश्वासिलो गाइड बुकको रुपमा पत्याउने गरिन्छ। विदेशी पर्यटक लोन्ली प्लानेटको गाइड बुक हेरेरै घुमघाममा निस्कन्छन। घुमघाम गरेका पाहुना, अध्ययनकर्ता, ब्लगरको अनुभवका आधारमा लोन्ली प्लानटेले वर्षेनी यो सूची प्रकाशित गर्दै आएको छ।

‘अहिलेको अप्ठेरोमा उत्कृष्ट भित्र पर्दा नेपाल घुम्नलायक मुलुकको रुपमा परिचित हुनेछ,’ उनले भने, ‘त्यसबाहेक नेपालको पर्यटन क्षेत्रले कोरोनालाई राम्रोसँग ह्याण्डल गर्न सफल भएको बुझाउँछ। नेपालको पर्यटन क्षेत्र जिम्मेवार रहेको बुझाउँछ।’ कोभिड संक्रमण घटेकोले पनि नेपालप्रति विश्वास जगाएको हुनसक्ने उनले बताए। बोर्डका निर्देशक लामिछानेका अनुसार नेपालमा पछिल्लो समय विदेशीको आगमन बढिरहेको छ।

गत सेप्टेम्बरमा झन्डै १० हजारजना विदेशी नेपाल घुम्न आएका थिए। यो संख्या अक्टोबरमा दोब्बर हुने सम्भावना रहेको उनले बताए। ‘शून्यमा झरेको पर्यटनमा उल्लेख्य सुधार हुने अपेक्षा छ। यसैमाथि पर्यटन क्षेत्रका प्रख्यात निकायले उत्कृष्ट सूचीभित्र समेट्दा आगमन बढाउन सघाउनेमा दुई मत हुँदैन,’ उनले भने।

पर्यटन व्यवसायी समेत रहेका पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा पनि लोन्ली प्लानेटको सूचीले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने बताउँछन्। ‘विश्वभरका पर्यटकले विश्वास गरेको ट्राभल गाइडबुक भएकोले उत्कृष्ट दशभित्रको सूचीले पर्यटक आगमनमा सुधार हुनेछ,’ सापकोटाले भने, ‘नेपालको प्रचार प्रसार हुने र पाहुनालाई नेपाल घुम्नका लागि प्रोत्साहन पनि गराउँछ। नेपालबारे विश्वमै प्रचारप्रसार पनि हुनेछ।’

लोन्ली प्लानेटको त्यही सूचीको आधारमा विश्वका कहलिएका संचारमाध्यमले समेत समाचार सम्प्रेषण गर्ने भएकोले नेपालबारे थप प्रचारप्रसार हुने पनि सापकोटाले बताए। ‘लोन्ली प्लानेटको प्रचारप्रसारलाई आधिकारिक मानिन्छ। विदेशीले निकै नै विश्वास पनि गरेका छन,’ उनले भने, ‘नेपाल घुम्न जान चाहेका वा नेपालबारे कम जानकारी राख्ने विदेशीलाई पनि घुमघामका लागि उपयुक्त गन्तव्य रहेको सन्देश दिन्छ।’ यसको प्रभावका कारण आगामि दिनमा नेपालमा थप विदेशी पाहुना आउनसक्ने उनले बताए।

‘लोन्ली प्लानेटले अनुमानको भरमा नेपाल घुम्न जाउ भनेको छैन। अध्ययन अनुसन्धान, अनुभव लगायतको आधारमा मात्र यो सूची प्रकाशित गर्ने हो,’ उनले भने। कोरोनाको थलिएको पर्यटन क्षेत्रमा मल्हम लगाउने काम लोन्ली प्लानेटले गरेको उनले बताए। ‘कोरोना संक्रमण बढेको भए सायद यो सूचीमा नपर्न पनि सक्दथ्यो। तर, अब नेपाल घुमघामका लागि उपयुक्त छ भनेर यो सूचीमा समेटेको हो,’ सापकोटाले भने। लोन्ली प्लानेटले यसअघि विश्वमा घुम्नैपर्ने पर्यटकीय सुँचीमा अन्नपूर्ण फेरोलाई पनि समेटेको थियो।