ताजाकोट गाउँपालिका–३ मासपुरका ५७ वर्षीय दानबहादुर बुढाले अहिलेसम्म ३ पल्ट मतदान गरे । सबै निर्वाचनमा उनी झन्डै १० घण्टा पैदल हिँडेर थापागाउँस्थित कैलाश प्राथमिक विद्यालय पुगेका हुन् ।आगामी वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनमा पनि उनलाई फेरि १० घण्टा नै हिँडेर थापागाउँ पुग्नुपर्ने बाध्यता भएको छ । ‘अघिल्लो दिन गएर भोट हालेर चुनावको भोलिपल्ट गाउँ फर्कन्छौं,’ उनले भने, ‘अहिले त गाउँमै भोट हाल्न पाइएला भनेको नपाइने भो ।’
टाढा गएर मतदान गर्न समस्या भएपछि ज्येष्ठ नागरिक, अशक्त र महिलाहरू मतदानको अवसरबाट समेत वञ्चित भएको स्थानीय केशव बुढाले बताए । ‘हामी त जसोतसो भोट हाल्न जाउँला,’ उनले भने, ‘हिँड्न नसक्नेलाई कसरी लैजाने ?’ सरकारबाट पाउनुपर्ने अधिकांश सेवासुविधा नपाए पनि गाउँमै मतदान गर्न पाउनुपर्ने माग वर्षौंदेखि सुनुवाइ नभएको उनको गुनासो छ । उनका अनुसार मासपुरमा २२ घरधुरी छन् ।
स्थानीय धनवीर बुढाले भौगोलिक विकटताका कारण आफूहरू लामो समयदेखि सरकारी सेवा सुविधाबाट वञ्चित भएको बताए । उनका अनुसार वडा कार्यालय पुग्नसमेत १० घण्टा हिँड्नुपर्ने बाध्यता छ । ‘राज्यबाट पाउनुपर्ने अरू सुविधा त पाएनौं पाएनौं, कम्तीमा भोट हाल्ने ठाउँ गाउँमै बनाए विकासको अनुभूति हुन्थ्यो,’ उनले भने । उनले सदरमुकाम टाढा हुँदा आफू बसेको घरजग्गाको लालपुर्जासमेत बनाउन नपाएको बताए । उनका अनुसार सदरमुकाम जान कम्तीमा एक साताको समय छुट्याउनुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस्