शिक्षा क्षेत्रमा नियमित कलम चलाइरहने डा.खगराज बरालको नयाँ पुस्तक ‘दर्शन, शिक्षा र आचरण’ नामको पुस्तक २०७८ साल माघदेखि बजारमा आएको छ।

माध्यमिक विद्यालयका शिक्षकदेखि शिक्षा मन्त्रालयको सचिवसम्मको जिम्मेवारी निर्वाह गरेका बरालका यसअघि पनि शिक्षासम्बन्धी थुप्रै पुस्तक प्रकाशित छन्। शिक्षाका सिद्धान्त, नीति, कार्यान्वयनका सम्बन्धमा मिहीन विश्लेषण गर्न रुचाउने बरालका दर्शन, शिक्षा र आचरण (२०७८), ‘सिकाइ र सहयोग’ (२०७६), ‘शिक्षाको दर्शन, नीति र व्यवहार’  (२०७५), ‘सिकाउने शैली’ (२०७५), ‘शिक्षा र सिकाइः सन्दर्भ विदेशको प्रसंग नेपालको’ (२०७४), ‘शैक्षिक दृष्टार्थ’ (२०७३), ‘केही शैक्षिक प्रबन्ध’ (२०७१), ‘शैक्षिक विमर्श वर्तमान अवस्था र सुधारका लागि मार्गचित्र’ (२०६९), ‘केही शैक्षिक मुद्दाहरू’ (२०६८), ‘शिक्षा विकासका नवीन आयामहरू’ (२०६७) जस्ता पुस्तक प्रकाशित छन्।

‘दर्शन, शिक्षा र आचरण’ पुस्तकमा दुई खण्ड रहेका छन्। पहिलो खण्ड दर्शन र आचरणसँग सम्बन्धित छ। यस खण्डमा पूर्वीय दर्शन र आचरण, सदाचार र सुशासनमा वैदिक पुराणको सन्दर्भ, प्रकृति, संस्कृति र संस्कार र दर्शन, आचरण र राष्ट्रसेवक गरी चार ओटा अनुसन्धानमूलक लेख रहेका छन्।

दोस्रो खण्ड प्राचीन र अर्वाचीन शिक्षासँग सम्बन्धित छ। यस खण्डमा वैदिक तथा पौराणिक गुुरुकुल शिक्षा, आर्ष महाकाव्य र उत्तरवर्ती साहित्यमा गुरुकुल, गुरुकुल र गुरुकुलको दिनचर्या, प्राचीन विश्वविद्यालय, विश्वविद्यालय र कुलपति, सार्वजनिक शिक्षाप्रति चिन्ता र चासो, सार्वजनिक परीक्षा र यसको अभ्यास, शिक्षा, रोजगार र नेपाली मानसिकता, राष्ट्रसेवकको सेवा सुविधामा विभेदः निजामती र विद्यालय शिक्षा सेवाका केही दृष्टान्त, बालबालिकाले गर्ने गल्ती र सजायका वैकल्पिक उपायहरू, विद्यालय तहमा दिवा खाजा कार्याक्रम कार्यान्वयनः एक नयाँ नमुना, महामारी र शिक्षा, कोभिड १९ र विद्यालय शिक्षा र विद्यालय शिक्षाको शैक्षिक सत्रको क्षतिलाई जोगाउने तरीका गरी चौधओटा अनुसन्धानमा आधारित लेख छन्।

शिक्षामा चासो राख्ने, शिक्षा क्षेत्रमा अनुसन्धान गर्न चाहने, विश्वविद्यालयका विद्यार्थी तथा शिक्षक र प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन चाहने सबैका लागि यो पुस्तक उपयोगी देखिन्छ। कुल २२८ पृष्ठको यो पुस्तकका मूल्य ३६० रुपैयाँ रहेको छ। यो पुस्तक भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो। नेपाल राज्यभरका पुस्तक पसलमा यो पुस्तक उपलब्ध भएको भुँडीपुराण प्रकाशनले जनाएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो