ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेको पहिलो वर्षमै मनग्य आम्दानी हुन थालेपछि कृषि प्राविधिकको जागिरसँगै ड्रागन खेतीमा लागेका धनुषाका दुई युवा उत्साहित बन्नुभएको छ । मिथिला नगरपालिका –९, बेंगाडाबरमा सोही वडाका उमेशकुमार महतो र बटेश्वर गाउँपालिका –१ का सञ्जयकुमार महतोले डेढ वर्षदेखि ड्रागन फ्रुटको खेती गरिरहनुभएको छ । उहाँहरू दुवैजना नेपाल सरकारका कृषि प्राविधिक पदका जागिरे हुनुहुन्छ । सञ्जयकुमार मिथिला नगरपालिकाका कृषि विकास शाखा प्रमुख हुनुहुन्छ । उमेशकुमार सोही शाखामा कृषि प्राविधिक पदमा कार्यरत हुुनुहुन्छ ।
एक विघा जग्गा भाडामा लिएर ड्रागन फ्रुटको खेती सुरु गर्नुभएका उहाँहरू धनुषामा ड्रागन उत्पादन गर्ने पहिलो किसान बन्नुभएको छ । करिब ३८ लाख रुपियाँ लागतमा गरिएको ड्रागन खेतीमा उहाँहरूसहित नौ जनाको साझेदारी छ । साझेदारी भएपनि सञ्जय र उमेशले यो खेतीमा बढी मिहिनेत गरेको बताउनुहुन्छ । कार्यालय खुल्ने दिनमा बिहान दुई घन्टा र बिदाका दिन दिनभर फार्म स्याहार्ने गरेको उहाँहरुको भनाइ छ ।
ड्रागन खेती सुरु गरेको पहिलो सिजनमै दुई लाख रुपियाँभन्दा बढी आम्दानी हात पार्नुभएका उहाँहरू यो खेतीबाट सन्तुष्ट रहेको बताउनुहुन्छ । ‘सुरुमा कसैले पत्याएनन् । यो काँडा रोपेर केही हुँदैन भनेर सबैले गिज्याउँदा दुःखमात्र लाग्थ्यो । त्यतिबेला एक किसिमको चुनौती पनि थियो,’ उमेशले भन्नुभयो । अहिले खेती खेर जाने भन्नेलाई नै फल खुवाउन पाउँदा आनन्द महसुस भएको उहाँको भनाइ छ । अहिले खेती हेर्न आउनेको घुइँचो रहेको उहाँले बताउनुभयो ।
भारतको गुजरातबाट ३ हजार ड्रागनका बिरुवा ल्याएर ७ सय २८ वटा सिमेन्टको खाम्बा (पिलर) मा रोपिएका छन् । रातो फलभित्र रातो फल र रातो फलभित्र सेतो फल भएका दुईखाले ड्रागनका अलावा रातो फलभित्र पहेँलो फल भएका ४० वटा बिरुवा भियतनामबाट मगाइएको उमेशले जानकारी दिनुभयो । खेतीको सुरुआतमा दुःख भोग्नु परे पनि विस्तारै फल लाग्न थालेपछि खुसी लागेको बताउनुभयो ।
लगानीकर्तासमेत रहनुभएका कृषि प्राविधिक सञ्जयले कृषिक्षेत्रमा युवालाई आकर्षित गर्न यो खेतीमा लागेको बताउनुभयो । परम्परागतभन्दा आधुनिक कृषिमा लाग्न र किसानलाई फाइदा हुने उहाँको अनुभव छ । ‘लगनशील हुनुपर्छ, सफलता प्राप्त हुन्छ,’ सञ्जयले भन्नुभयो ।
ड्रागन खेती सुरु गर्दा मिथिला नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बोटमा पानीको मात्रा पु¥याउन थोपा सिँचाइ प्रविधि लगाइएको उहाँले बताउनुभयो । सञ्जयका अनुसार कृषि ज्ञान केन्द्र धनुषाले ७५ प्रतिशत अनुदानमा २ सेट सेमिहाइटेक नर्सरी बीउ उत्पादनका लागि निर्माण गरिदिएको छ ।
फल झट्ट हेर्दा काँडाजस्तो देखिन्छ । सिमेन्टको खाम्बामा लगाइएको काँडाको विशेषता र उपयोगिता भने लोभलाग्दो छ । ड्रागन फ्रुटलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेलाजस्ता नामले चिन्ने गरिन्छ । दक्षिण अमेरिकाको मेक्सिकोबाट शुरु भएको यो फल सिँउडी प्रजातिमा पर्छ ।
यो समाचार गोरखापत्र मा साभार छ
प्रतिक्रिया दिनुहोस्